उदयपुर, ११ चैत । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् ।
अध्यक्ष ओलीले भने, “अहिले पनि एमाले देशको सबैभन्दा ठूलो प्रतिपक्ष पार्टी हो, आगामी वैशाख ३० को स्थानीय निर्वाचन सम्पन्न भएपछि पनि एमाले देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी बन्ने छ ।” उनले अलमलिएका पुराना कार्यकर्तालाई बेलैमा एमालेमा सङ्गठित हुन आह्वान गरे । एमालेले आगामी निर्वाचनबाट बहुमतको सरकार गठन गरेपछि लोककल्याणकारी कार्य र देश विकासको कार्यलाई झनै तीव्रता दिने विश्वास दिलाउँदै अध्यक्ष ओलीले देशको हित हुने तथा कसैसँग नझुक्ने नीतिसमेत लिने उल्लेख गरे ।
एमाले उदयपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुअघि एमाले अध्यक्ष ओलीले उदयपुरको सदरमुकाम गाइघाटस्थित बोक्से बासबारीमा निर्माण गरिएको नयाँ मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गरेका थिए । आँखा अस्पताल उद्घाटनसँगै आँखाको अप्रेशन गरेका बिरामीसँग अध्यक्ष ओलीले परामर्शका साथै अस्पताल भवनको निरीक्षणसमेत गरेका थिए ।