झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेको जनवर्गीय संगठन प्रजातान्त्रिक युवक संगठन र युवासंघ नेपालको संयुक्त आयोजनामा आगामी निर्वाचनलाई लक्षित गरी उम्मेदवार तथा कार्यकर्ता भेटघाट कार्यक्रम आज भद्रपुरमा सम्पन्न भएको छ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका क्षेत्रिय अध्यक्ष एवं हल्दिबारी गाउँपालिकाका वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन प्रमुख अतिथि रहेका थिए भने क्षेत्र नं ३ क का प्रदेश सभा उम्मेदवार वसन्त बानियाँ र ३ ख का उम्मेदवार छवि चुडाल विशेष अतिथि रहेका थिए।
संयुक्त निर्वाचन परिचालन समितिका अध्यक्ष जिवन कुमार श्रेष्ठ, नवराज पनेरु,अन्जार आलम लगायत भद्रपुर नगरपालिका उपमेयर राधा कार्की, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई , भद्रपुर वडा नं ७ का वडाध्यक्ष अविशेक ढुंगाना लगायत युवक संगठन र युवा संगठनका नेता तथा दुवै पार्टीका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
अनेरास्ववियु झापा जिल्ला अध्यक्ष रोशन लामाले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा जिवनकुमार श्रेष्ठले दुवै पार्टीले एक आपसमा बृहत छलफल गरेर आवश्यकता महशुस गरि चुनावी तालमेल गरिएको र पार्टीको निर्णयलाई अक्षरस पालना गर्न दुवै पार्टीका कार्यकर्ताहरुलाई आग्रह गर्दै उम्मेदवारहरु लाई शुभकामना दिएका थिए।
प्रतिनिधि सभाका साझा उम्मेदवार लिङदेनले देशलाई विदेशीको इसारामा चल्न वाट रोक्नका लागि यो तालमेल आवश्यक भएको भन्दै ” चुनाव जित्न नभएर देशका जनताको अवस्था परिवर्तन गर्न संगसंगै भएको धारणा राखेका थिए। यस्तै उनले भष्ट्राचार हटाउन पनि राष्ट्रवादी पार्टीको तालमेल भएको बताएका थिए।
प्रदेश सभा सदस्य उम्मेदवार चुडालले मानिसहरूले परिवर्तन चाहेको र त्यो युवाहरु वाट मात्रै सम्भव हुने र तिनैजना राजनीतिमा खारिएर आएको युवाको टिम भएकाले परिवर्तनका लागि मतदान गर्न सबैमा आग्रह गरेका थिए भने अर्का उम्मेदवार बानियाँले यस अघि पनि यहाँका जनताको साथले आफू प्रदेश सभा सदस्य भएको र त्यो समयमा कोभिडको महामारीका कारण कतिपय काम अपूरा रहेकाले ति पूरा गर्ने साथै क्षेत्र नं ३ को समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका थिए।
कार्यक्रमको समापन गर्दै युवक संगठनका क्षेत्रिय अध्यक्ष थापाले आगामी निर्वाचन लक्षित गरी युवाहरुको संयुक्त परिचालन कमिटी छिट्टै गठन गर्ने जानकारी गराएका थिए भने कार्यक्रमको संचालन युवासंघका नेता डिल्लीराम सिटौलाले गरेका थिए।