बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए ।

उमेरले ८० वर्ष पुग्नुभएका केसीको राजनीतिक जीवनमा धेरै उतारचढाल रह्यो । विसं २०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित हुनुभएका केसी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बन्नुभएको थियो । केसीको यो चौथो पटकको संसद यात्रा हो । विसं २०५१ सालको आम निर्वाचनमा केसी बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभाको सदस्यको उमेदवार भए पनि उहाँ पराजित हुनुभयो । त्यसपछि २०५६ सालको संसदीय निर्वाचनमा उहाँ यही क्षेत्रबाट संसद चुनिनुभयो । तत्कालीन समयमा उहाँले नेपाली कांग्रेसका गोपाल सापकोटालाई पराजित गर्नुभएको थियो ।
विसं २०६४ को संविधानसभा सदस्यमा केसीले नेपाली कांग्रेसका मणिभद्र शर्मा कँडेललाई पराजित गरेर निर्वाचित हुनुभएको थियो । केसीले २०७४ सालमा भने चुनाव लड्नुभएन । केसी २०७२ साल कात्तिक १९ मा ७५ वर्षको उमेरमा उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री बन्नुभएको थियो । राजनीतिक भाषण तथा अन्तर्वार्तामा उखान टुक्का मिसाएर बोल्ने उहाँको शैली मन पराउनेको सङ्ख्या धेरै छ । केसीले राजनीतिक यात्रामा १९ वर्ष भूमिगत जीवन बिताउनुभएको छ । उहाँले ९ महिना जेल जीवन बिताउनुभएको थियो ।










