झापा। झापाको बिर्तामोडमा रहेको साहारा नेपालले विश्वास परियोजनाको बारेमा जानकारी गराउन आज पत्रकार सम्मेलन गरेको छ।
विश्वास परियोजनाले विशेष गरी उपेक्षित तथा उष्ण प्रदेशीय रोग मातृ शिशु स्याहार र अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य सुधारका लागि फेयरमेड फाउन्डेसन को सहयोगमा काम गरिरहेको छ।
कार्यक्रमलाई प्रदेश नं १ भरि संचालन गर्ने लक्ष्य रहेको र हाल झापाका लक्षित स्थानीय तहमा कचनकवल, झापा,बार्हदशी, हल्दिबारी,गौरीगंज गापा तथा भद्रपुर, बिर्तामोड, कन्काई, गौरादह र मेचीनगर नगरपालिका रहेका छन भने शिवसताक्षी, दमक,अर्जूनधारा नगरपालिका, बुद्धशान्ती र कमल गाउँपालिकामा पनि कार्यक्रम सञ्चालन गर्दै गरेको जानकारी गराईएको थियो। यसैगरी मोरङको ७ वटा स्थानीय निकायमा नि परियोजना सञ्चालन भइरहेको छ।
विश्वास परियोजनाले विशेष गरी स्वास्थ्यकर्मी र सम्बन्धीत निकायको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने, सामुदायिक स्वास्थ्य सेवालाई एकिकृत र गुणस्तरीय बनाउने, समुदायका सर्वसाधारणको क्षमतामा अभिवृद्धि गरी स्वास्थ्यमा पहुँच बढाउने मुख्य उद्देश्य भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो। नेपालमा कुष्ठरोग, हात्तीपाइले, सर्पदंश,फितेजुका,खस्रेरोग, लुतो, कालाजार, जुका,डेंगु ,चिकनगुनिया र रेविज लगायतका रोग लाई उपेक्षित उष्ण प्रदेशीय रोगहरू भनेर वर्गिकरण गरिएको विश्वास परियोजनाका संयोजक पवन राइले जानकारी गराएका थिए।
विशेषगरी जनस्वास्थ्य सेवा को प्राथमिकतामा नपरेका कारण यसलाई उपेक्षित रोग भन्ने गरिएको हो जसलाई गरिबीसंग जोडेर हेर्ने गरिएको छ। सामाजिक भेदभाव, आर्थिक कोष र सहयोगको कमी,सहि तथ्यांकको अभाव साथै रोगलाई मानिसहरूले लुकाउने गरेका कारण यस्ता रोगहरू बढ्दै गएकाे कारण सुन्दा सामान्य लाग्ने यि रोगहरूको जोखिम बढ्दै गएकाले स्थानीय निकायसँग को सहकार्यमा यि रोगहरूको न्युनीकरणमा परियोजनाले काम गर्ने छ।
यसैगरी परियोजनाले यस्ता रोगहरू सम्बन्धी अभिमुखीकरण कार्यक्रम, स्वास्थ्यकर्मीहरु को लागि एनटिडि तालिम,बिधालयमा सचेतना कार्यक्रम,छाला शिविर सञ्चालन,बर्थिङ सेन्टरका लागि स्वास्थ्य संस्थालाई सहयोग मातृशिशु स्वास्थ सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको प्रष्ट पारिएको थियो।
विश्वास परियोजना सन २०२१ देखि संचालन भएको र २०२५ सम्म रहने संयोजक राईले बताएका थिए। कार्यक्रमको औचित्यमाथि साहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले प्रकास पारेका थिए।
कार्यक्रममा साहारा नेपालका अध्यक्ष भरतलाल गिरी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, विश्वास परियोजनाका वेदप्रकाश शर्मा लगायत पत्रकारहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो भने सहजीकरण साहारा नेपालका मातृका सुवेदीले गरेका थिए।