झापा।हल्दिबारी गाउँपालिका को ज्येष्ठ नागरिक तथा अशक्त नागरिकका लागि घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रमको आज हल्दिबारी १ बाट सेवा शुभारम्भ भएको छ।हल्दिबारी गाउँपालिका को विशेष कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक तथा अशक्त लाई घरघरमै गएर निशुल्क स्वास्थ्य परिक्षण, ल्याब, परामर्श तथा औषधी वितरण गर्ने र यहाँ असम्भव भएका बिरामीहरूलाई अवस्था हेरेर अन्यत्र पठाउने गरि सेवा आरम्भ गरेको हल्दिबारी स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए।
हल्दिबारी १ को कोचाटोलीमा आज शुभारम्भ भएको कार्यक्रममा करिब ३० जनाले स्वास्थ्य सेवा लिएका थिए। स्वास्थ्यकर्मीहरुको समूहले दिएको यो विशेष सेवा बाट अत्यन्तै खुसी लागेको सेवाग्राहीले बताएका थिए।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाध्यक्ष देवी बहादुर थापा, वडा सदस्यहरू शान्ता शिवाकोटी, रूपा रसाईली,प्रकास कार्की लगायत विद्यालयका शिक्षक शिक्षिका, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले ” हल्दिबारी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अशक्त नागरिक लक्षित गरेर यस्तो कार्यक्रम सुरु गरेको र सबै वडामा यो कार्यक्रम अघि बढ्ने बताए भने तोकिएको केन्द्र सम्म जान नसक्ने बिरामीलाई स्वास्थ्यकर्मीले घरमै पुगेर सेवा दिने जानकारी गराएका थिए।
जनतासँग प्रत्यक्ष जोडिएको र अनिवार्य आवश्यकतामा पर्ने यस्तो कार्यलाई आगामी दिनमा अझै सशक्त बनाउने उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले बताईन।
यस्तै वडाध्यक्ष थापाले वडामा रहेका अशक्त बिरामी पहिचान गरि सेवा दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्वास्थ्य शाखा प्रमुख निरौलाले आधारभूत स्वास्थ्य सेवा लिन कोही नछुटुन् भन्ने उद्देश्यले कार्यक्रम अघि बढाएको भन्दै यसबाट ज्येष्ठ नागरिक र अशक्तले प्रत्यक्ष सुविधा लिने विश्वास व्यक्त गरेका थिए।
हल्दिबारी गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन पनि भईरहेको छ।