कविता : नारी दिवस

साथी,

सिधा बाटोमा काँडा भेटिएलान् ,
तिमी दायाँबायाँ हिड्नु
ढिला होला तर गन्तव्य भेटिन्छ ।

साथी,
अरुले गरेको अपमानलाई आत्मविश्वासमा बदल्नु
कसैले गरेको अनपेक्षित व्यवहारबाट उसको क्षमता आँकलन गरिदिनु
जो भित्र जे छ, बाहिर त्यही निस्कन्छ
चाहे माया होस्, चाहे घृणा ।

साथी
हामीले त एउटा युद्ध जन्मने बित्तिकै जितेका हौ
हामी मध्ये कति चेली रहरले जन्मिएका हैनौं नि त !
अन्धकारमा रुमलिरहेका बेला याद गर्नु,
रात पछि बिहानी त हुन्छ नै ।
तिमी भित्रको क्षमता पहिचान गर्नु,
सपना देख्नु , सपना देख्ने मान्छेले एक्लोपन महसुस गर्नुपर्दैन ।

अर्को कुरा साथी
आफ्नो जिम्मेवारीमा नचुक्नु,
तल पार्न खोज्नेहरुको अगाडि नझुक्नु ।
नबताउनु आफ्ना जिन्दगीका योजना,
चुपचाप मेहनत गर्नु,
हल्ला त तिम्रा सफलताले गरून् ।

साथी
अझै पनि हाम्रो “सफलता” र “स्वतन्त्रता” देख्न सक्ने समाज बनिसकेको छैन ।
धैर्य गर्नु
“छोरीलाई पढाउनु हुन्न” भन्ने समाज
“छोरीले त नपढी हुन्न” भन्ने सम्म त पुगेको छ ।
परिवर्तन एकैपटक हुने पनि हैन ।

साथी
गार्‍हो छ नि,
आफ्ना प्राथमिकता र आफन्तका अपेक्षालाई सँगसँगै हिडाउँन ।
अझै गार्‍हो छ,
बिना प्रमाण देखाइएका गल्ती र अौल्याइएका कमजोरीको वेवास्ता गरि अघि बढ्न ।

हामी सक्छौ साथी,
आफ्नो हित विपरीतका कुरालाई सुनेर नि नसुनेजस्तो गर्न ।
अनावश्यक टिकाटिप्पणीलाई नजरअन्दाज गर्न ।
हामीलाई फुर्सद नै कहाँ छ र ?
कसले कतिबेला के भन्यो भनेर गुनासो गर्न ।
नकारात्मक उर्जा दिनेसँग टाढै बस्नु ।
सम्बन्ध थोरै सँग मजबुत बनोस् केही छैन
तर हिम्मत दिने बनोस्,
अप्ठ्यारोमा हात दिने बनोस्,
टुट्न लाग्दा साथ दिने बनोस् ।

जिन्दगी सुन्दर छ साथी,
परिस्थिति जस्तो बनेपनि मनस्थिति बलियो बनाउनु ।
लड्नु , लडेपछि उठ्न नबिर्सनु ।
नबिर्सनु, हामीलाई प्रकृतिले नै थप जिम्मेवारी दिएको छ भने जिम्मेवारी पूरा गर्ने क्षमता पनि दिएको छ ।
हरेक ठाउँमा समानता भेटिदैन साथी,
“हामी फरक छौं र त विशिष्ट छौं”

सम्झना “सानू”
पोखरा महानगरपालिका -२२ , कास्की ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search