झापा।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा झापाले आज प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ।
चैत १५ गते काठमाडौंमा भएको कार्यक्रममा घुसपैठ भएको भन्दै राप्रपाले सरकारको ध्यानाकर्षण गराएको हो।
पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग नागरिक समाज सम्मिलित स्वतन्त्र छानविन आयोगको गठन, छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चैत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी र प्रशासनिक नेतृत्वको निलम्बन,मृतकहरू सविन महर्जन र सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था,झुठा मुद्दा खारेजी र निर्दोषहरूको रिहाई, घाइतेहरुको निःशुल्क उपचार र पार्टीले पेश गरेका ४० बुँदे माग उपर नविन समझदारीका लागि वार्ता लगायतका माग राखेको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापा,जिल्ला अध्यक्ष केशवप्रसाद ओझा लगायत पार्टीका विभिन्न तहमा रहेका नेता कार्यकर्ताहरूको उपस्थितिमा बुझाइएको थियो।
चन्द्रगढी बिजुली अफिसबाट राजतन्त्र जिन्दावाद, पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतलाई रिहा गर लगायतका नारा लगाउँदै चन्द्रगढी बजार परिक्रमा गर्दै र्याली निकालिएको थियो भने जिल्ला प्रशासन कार्यालय अगाडि पुगेपछि कोणसभा गरिएको थियो भने सभालाई राम थापा र केशव ओझाले सम्बोधन गरेका थिए।