अविरल वर्षाबाट झापामा मात्र ७८ करोड बराबरको धानबाली नष्ट

झापा।अविरल वर्षाका कारण झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा धान र तरकारी बालीमा ठूलो क्षति पुगेको छ।

Advertisement

कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार कात्तिक १५ देखि १७ गतेसम्मको लगातार वर्षाले झापामा मात्र ४ हजार ३६४ हेक्टरमा लगाइएको धान बालीमा असर पुर्‍याएको छ। यसबाट २१ हजार ८२० मेट्रिक टन धान नष्ट भई करिब ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।प्रदेशभरि कुल २ अर्ब ५ करोड ५४ लाख ३६ हजार ७ सय ९० रुपैयाँ बराबरको कृषि क्षति भएको निर्देशनालयले जनाएको छ। वर्षाका कारण ५८ हजार २६७ दशमलव २६ मेट्रिक टन धान र तरकारी बाली नष्ट भएका छन्। यसमध्ये करिब २ हजार मेट्रिक टन तरकारी बालीमा क्षति पुगेको छ, जसको मूल्य करिब ४ करोड रुपैयाँ बराबर छ। बाँकी धान बालीको क्षति मूल्य करिब २ अर्ब १ करोड रुपैयाँ बराबरको रहेको छ।

तथ्याङ्क अनुसार, झापा, मोरङ र सुनसरी जिल्लामा सबैभन्दा बढी क्षति भएको छ।

मोरङमा ३ हजार ४२१ हेक्टर क्षेत्रफलमा १६ हजार ४२० दशमलव ८ मेट्रिक टन धान नष्ट भई ५८ करोड ७८ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

सुनसरीमा २ हजार ८५१ हेक्टर क्षेत्रफलमा १२ हजार ६५८ दशमलव ४४ मेट्रिक टन धान नष्ट भई ४५ करोड ३१ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यहाँका २ सय हेक्टरमा लगाइएको तरकारी बाली पनि वर्षाले नष्ट गरेको छ, जसको मूल्य करिब ४ करोड रुपैयाँ बराबर छ।

प्रदेशका पहाडी जिल्लामध्ये उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा २०० हेक्टर, ओखलढुंगामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र संखुवासभामा १२५ हेक्टर क्षेत्रमा लगाइएको धान बालीमा समेत क्षति पुगेको निर्देशनालयले जनाएको छ।

निर्देशनालयका सूचना अधिकारी पूर्णमाया गुरुङका अनुसार, क्षतिग्रस्त धान बालीमध्ये अधिकांशमा बीमा नहुँदा किसान थप मारमा परेका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search