



हल्दिबारी
। “रगतदान जीवनदान हो” भन्ने नारासहित हल्दिबारी गाउँपालिका–३ ढडुवामा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।ढडुवा युवा क्लब परिवारको मुख्य आयोजनामा र स्थानीय संघ–संस्थाहरूको सक्रिय सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ३५ जनाले रगतदान गरेका छन्।
क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेको अध्यक्षतामा समपन्न कार्यक्रमको हल्दीबारी वडा न ३ का वडा अध्यक्ष बिष्णु प्र ओलिको प्रमुख आतिथ्यता थियो । आज भएको उक्त कार्यक्रममा रेडक्रस जलथलका अध्यक्ष रेम खरेल, रेडक्रस हल्दिबारीका सचिव कृष्ण प्रसाई, रातमाटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक तामाङ, जेसिज हल्दिबारीकी अध्यक्ष युनिता दवाडी, ढडुवा बजार व्यवस्थापन समितिकी उपाध्यक्ष तुलसा आचार्य लगायतका सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

वडा नं.–३ वडा कार्यालयको समन्वय, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको प्राविधिक सहयोग तथा स्थानीय संस्थाहरूको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा ३ जना महिला र ३२ जना पुरुष गरी कुल ३५ जनाले स्वेच्छाले रगतदान गरेका थिए।

औपचारिक भाषण र लामो मन्तव्य बिनामै सम्पन्न गरिएको कार्यक्रम स्थानीय युवाहरूको सक्रियता र सामूहिक भावना प्रदर्शनको उत्कृष्ट उदाहरणका रूपमा रहेको सहभागीहरूले बताएका छन्।
क्लबका सचिव अभिषेक खतिवडाले कार्यक्रमको सञ्चालन तथा सहजीकरण गर्नुभएको थियो।

रगतदानजस्तो मानवीय कार्यलाई निरन्तरता दिँदै समाजमा सहयोग र मानवताका मूल्य विस्तार गर्न क्लबले आगामी दिनमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने जनाएको छ।








