बडाबारीमा बजार अनुगमन, २० वटा पसललाई कागजात पूरा तथा नवीकरण गर्न पत्राचार

झापा। हल्दीबारी गाउँपालिकाले बजार क्षेत्रका व्यवसायहरूको दर्ता, नवीकरण, मूल्यसूची तथा आवश्यक कागजातको अवस्थाबारे अनुगमन गरेको छ।

हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं. ४ का वडाध्यक्ष सन्तकुमार थापा लगायत संचारकर्मी , प्रहरी ,जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारीहरूको टोलीले हल्दीबारी–४ स्थित बडाबारी बजारका विभिन्न पसलहरूको अनुगमन गरेको हो।

अनुगमनका क्रममा पसल सञ्चालनका लागि आवश्यक दर्ता प्रमाणपत्र, व्यवसाय नवीकरण, मूल्यसूची, सरसफाइ तथा अन्य आवश्यक कागजातहरूको अवस्थाबारे जानकारी लिइएको थियो। अनुगमनका क्रममा आवश्यक कागजात पूरा नगरेका तथा व्यवसाय नवीकरण नगरेका २० वटा पसललाई आवश्यक प्रक्रिया पूरा गरी व्यवसाय नवीकरण गर्न पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ।

उपाध्यक्ष मैनालीले बजार क्षेत्रलाई व्यवस्थित, पारदर्शी तथा उपभोक्तामैत्री बनाउन नियमित बजार अनुगमन आवश्यक रहेको बताउनुभएको थियो। । उहाँले व्यवसायीहरूलाई कानुन तथा स्थानीय सरकारका प्रचलित मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत वनले व्यवसायीहरूले समयमै व्यवसाय दर्ता तथा नवीकरण गरी आवश्यक कागजात अद्यावधिक राख्नुपर्ने बताउनुभएको थियो। । बजार अनुगमनको उद्देश्य व्यवसायीलाई अनावश्यक दुःख दिने नभई बजार व्यवस्थापन, उपभोक्ता हित संरक्षण तथा कानुनी प्रक्रिया पालना गराउनु रहेको उहाँको भनाइ रहेको थियो।

वडाध्यक्ष थापाले बडाबारी बजारलाई व्यवस्थित र मर्यादित बजारका रूपमा विकास गर्न व्यवसायी तथा स्थानीय सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

गाउँपालिकाले बजार क्षेत्रको व्यवस्थापन, उपभोक्ता अधिकारको संरक्षण तथा व्यवसाय सञ्चालनलाई कानुनी दायरामा ल्याउने उद्देश्यले आगामी दिनमा पनि नियमित रूपमा बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search