नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पालैपालो धोका खाएकाहरू एक ठाउँमा उभिए राजनेताको गद्दी के होला भन्ने हेक्का राख्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले संसदमा मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै कांग्रेस महामन्त्री शर्माले पालैपालो विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिएर धोका खाएकाहरू एक होऔँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला भन्ने प्रश्न गरेका हुन् ।
‘पोहोर एमाले र अहिले कांग्रेस विपक्षमा छ । पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालो विपक्षमा उभिएकाहरू एकै ठाउँमा उभिएर धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?,’ प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्दै उनले भने ।
महामन्त्री शर्माले आफूहरू सरकारको अवस्था बदल्न लागिरहेका बेला प्रधानमन्त्री प्रचण्डले गठबन्धन नै बदलेको बताए । ‘हामीले सरकारमा केही अप्ठ्यारो छ भने त्यो अवस्था बदलौँ भनेर भनेका थियौँ । तर, प्रधानमन्त्री प्रचण्डले गठबन्धन नै बदल्नुभयो,’ उनले भने ।