टिकाराम वन ⁄ देवीका अधिकारी,- झापा, झापा र मोरङ जिल्लामा देखिएको उल्टाकाँडा मिचाहा प्रकृतिको झारले धेरै असर पारेको कुरा विगत ३ बर्ष अघिदेखि चर्चामा आएको छ । यद्यपि यसको नियन्त्रणको पहल नहुँदा असर पनि रोकिएको छैन ।.
यसले पशु चौपाया र मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने कुरा फरेस्ट एक्सन नेपालको २ वर्ष अगाडिको प्रकाशनमा उल्ल्लेख छ ।
यस्तै प्रतिनिधि घटनाको रुपमा बिर्तामोड नगरपालिका –२ बस्ने एक व्यक्ति उल्टाकाँडाको झुस र काँडा बिझ्न गइ घाइते भएका छन् । उनको खेतबारी तथा बाटोघाटोमा उल्टाकाँडा प्रशस्त देख्न सकिन्छ । उल्टाकाँडाले गर्दा जोगिएर हिँडडुल गर्नु पर्ने बाध्यता रहेको छ । असार मध्यको बेला थियो । धान रोप्न भनी खेत तयार गर्न जाँदा उल्टाकाँडाले खेत ढाकिएको थियो । त्यसपछि काटेर फ्याँक्ने विचार गरी एक हातमा पञ्जा र अर्काे हात पञ्जा नलगाई हँसियाले उल्टाकाँडा काट्न थाले । सो कार्य २ दिनसम्म गरिरहँदा हल्का चिलाएजस्तो महसुस भएपनि वास्ता नगरी काटेर निकाली सके । त्यसपछि ४ दिनसम्म दाहिने हातको हत्केला पछाडी चिलाउने क्रम बढ्दै गयो । अनि, सुन्निन पनि थाल्यो ।
त्यसरी नै ५ औं दिनमा फोकाहरु उठ्न थाले ।दुखाई असह्य भएपछि नजिकैको मेडिकल सेन्टरमा गए । मेडिकलमा टिटानासको इन्जेक्सन लगाइ केही दुखाइ कम गर्ने र काँडा निकाल्ने औषधि किने । त्यसपछि झुस र काँडा बिझेको ठाउँमा मल्हम लगााई विस्तारै काँडा र झुस निकाल्न थाले । उपचारपश्चात् १० दिनपछि पनि काँडा कोट्याएर निकालिनसकेको उनी बताउँछन् । काँडा कोट्याएर निकालिसकेको ठाउँमा घाउ बिस्तारै निको हँुदै गएको छ । १० दिनमा ५० प्रतिशत निको भएको र अरु ९ ÷१० दिनमा पूर्ण निको हुन्छु भन्ने उनीमा बिश्वास छ । हातले खाना खान नसकेर चम्चा समेत समाउन गाह्रो भएको स्थिति रहेको छ । औंलाहरु चलाउँदा चस्केको अनुभूति हुन्छ भने छालाभित्र काँडा तेर्साे परि पसेको हुनाले निकाल्न गाह्रो छ र पनि दिनानुदिन कोट्याउँदै निकाल्दै गरेको उनले बताए ।
हेर्दा सामान्य देखिने काँडाले दिएको दुःख भने असामान्य छ उनलाई । हामीले पनि काँडा पसेको ठाउँमा हेर्दा अझ पनि मसिना मसिना झुस र काँडाको टोप्रो सजिलै देख्न सक्छौं । ‘काँडा जुन दिशाबाट पस्यो, त्यही दिशाबाट मात्र निकाल्न सकिन्छ । किनकि त्यसको टुप्पो सानो अथवा मसिनो हुन्छ र फेद अलि ठूलो हुन्छ त्यहीँ भएर हो ’उनी भन्छन् । उनको यो हाल देखेर हामी पनि सोच्न बाध्य भयौं कि एक मामुली मिचाहा प्रजातिले मानिसको स्वास्थ्य एवम् दैनिक जीवनमा कति जटिल असर पु¥याइरहेको रहेछ भनेर ।
के हो त उल्टाकाडाँ झार?
उल्टाकाँडा झार एक वहुवर्षीय मिचाहा प्रजाति हो । यो उष्ण प्रदेशीय क्षेत्र( विशेषगरी मध्य र दक्षिण अमेरिका )र क्यारोवियन क्षेत्रको रैथाने वनस्पति हो । उल्टाकाँडा झार हालै मात्र नेपालमा पहिचान भएको नयाँ मिचाहा प्रजाति हो । यो नेपालको पूर्वी क्षेत्रमा मात्र फैलिएको छ भने पश्चिमी क्षेत्रमा फैलने क्रममा छ । नेपालमा कहाँबाट कसरी फैलियो भन्ने कुराको यकिन तथ्याङ्क नभएको कुरा वनस्पतिविज्ञ डा. लीलानाथ शर्मा बताउँछन् । नेपालमा काँडा हुने र नहुने .गरी दुई प्रजातिको उल्टाकाँडा भेटिएको तथ्याङ्क रहेको छ । यसको बोट झ्वाट्ट हेर्दा अरेली काँडाको जस्तो तर पात भने लज्जावतीको जस्तो देखिन्छ । यो लहरा एवम् झाडीको रुपमा तिब्र गतिमा फैलिन्छ । खोलाको किनार ,बगर ,खुल्ला ठाउँ , छत्रघनत्व पातलो भएको जंगल,सडकको छेउछाउ र ग्राभेल भएको बाटोमा बढी मात्रामा देख्न सकिन्छ साथै खेतवारीमा समेत प्रवेश गर्न थालिसकेको स्थिति छ । उल्टाकाँडाले खेतबारी,वनक्षेत्र बाटोघाटो ,खुल्ला मैदान ,चरनक्षेत्र आदिमा नकारात्मक असर पु¥याउन थालिसकेको छ ।
यो काँडा फैलिएको क्षेत्रमा मानिस तथा जनावरको आवतजावत त परै जाओस् प्रवेश गर्न समेत नसकिने स्थिति छ । यो वनस्पतिमा मिमोसिन भन्ने विषालु रसायन हुने भएकाले पशु चौपायाको लागि घातक सिद्घ छ । यो वनस्पतिमा पशु लगेर चराउने तथा घाँस काटेर दिनाले झापा र मोरङमा २०० भन्दा बढी पशु चौपायाको मरिसकेको छ । यसको काण्डमा घोप्टो परेको काँडा र मसिनो झुस हुन्छ । जुन मानिसको हात,खुट्टा र शरीरमा बिझेमा चिलाउने , पोल्ने, फोका आउने र घाउ समेत हुने गर्दछ ।
त्यसैले यो उल्टाकाँडा झार कहिँकतै देखिएमा तुरुन्त नियन्त्रणको उपाय गरी जस्तै (उखेल्ने ,जलाउने ) मास्ने कार्य गर्नु पर्दछ । यसलाई कहिल्यै पनि नाङ्गो हातले छुने चलाउने गर्नु हुँदैन । पशु चौपायालाई खुवाउने वा चराउने गर्नु हुँदैन । सुरुवाती पहिचानको अवस्थामा त यसको प्रभाव यतिको खतरनाक देखिन्छ भने दीर्घकालमा के होला ! सबैले बेलैमा सोच्नु पर्ने समय आएको छ । त्यसैले यसको नियन्त्रणको लागि प्रहरी ,प्रशासन, स्थानीय तह ,सामुदायिक वन उपभोक्ता समूह ,जनसमुदाय र सरकार समेतले ध्यान दिनु जरुरी छ ।