संगित मन नपराउने र नगुनगुनाउने मान्छे बिरलै हुन्छन् । सुखदुःखको साथी हो संगीत । दुःखमा मनको बह पोख्ने अनि खुशीमा उत्सव मनाउने एउटा माध्यम हो संगीत ।
पछिल्लो समय युवा वर्गमा संगीतको क्रेज अझ बढ्दो छ । यसलाई रहरदेखि व्यवसायसम्म बनाउनेको ठूलै लर्को छ यतिखेर । समय अनुसार भित्रिएका विभिन्न प्रविधि तथा प्लेटफर्म मार्फत संगीतले फड्को मारेको त छँदैछ नयाँ कलाकारलाई पनि स्थापित गराइदिएको छ । तर, संगीत क्षेत्रमा जम्न भने सोचे जस्तो सहज चाहिं छैन । धेरै गीत गाइसक्दा पनि गुमनाम रहेका कलाकारहरूको संख्या पनि उत्तिकै छ ।
आजकल युवाहरूको सपना पूरा गरिदिने एउटा दरिलो माध्यम बनेको छ रियालिटी शो । नेपालमा पछिल्लो समय गायनमा रुचि भएका र गाउन सक्ने क्षमता भएका कलाकारलाई लिएर नेपाल सिङगीङ सुपरस्टार शो सञ्चालन भइरहेको छ । इमेज एचडी टेलिभिजन मार्फत प्रत्येक सोमबार र मंगलबार राति प्रशारण हुने उक्त रियालिटी शो छोटो समयमै चर्चित बनेको छ ।
उसो त प्रविधिको प्रयोग रियालिटी शोमा पनि बढ्दो छ अहिले । शोहरूमा पनि रेकर्डेड, अटो ट्युनर लगाएर, मिक्सिङ गरेर आवाजलाई लयमा ल्याउने, उत्कृष्ट सुनाउने प्रचलन बढेको छ । तर, यस रियालिटी शोका जजहरूले भने रेकर्डेड, अटो ट्युनरको प्रयोग नभई सहभागीले जस्तो गाएका छन् उस्तै बोर्डकास्ट गरिने दावी गरेका छन् । उक्त शोमा सत्य स्वरुप आचार्य, मिलन नेवार र सञ्जय श्रेष्ठ जजका रूपमा रहेका छन्।
यसै रियालिटी शो मार्फत झापाको कचनकवलका दिपक सापकोटा (भान्जा)ले स्रोता–दर्शकको मन जित्दै फाइनलमा प्रवेश गरेका छन्।सानैदेखि सांगीतिक माहोलमा हुर्किएका दिपकलाई रियालिटी शोको अनुभव नयाँ होइन । उनले यसअघि द भ्वाइस अफ नेपालको सेटमा पनि आफ्नो आवाज गुञ्जाइसकेका छन ।
दिपकको मामा गौरव दर्पण नाम चलेकै गायक/संगीतकार भएकाले दिपकलाई संगीत सिक्न धेरै गाह्रो भएन । २०६५ सालतिर कक्षा ८ को परीक्षा दिएर छुट्टी मनाउन मामाघर गएका दिपकले पहिलो पटक संगीतलाई नजिकबाट नियाल्न पाए । उनले मामाघर एक महिना बस्दा संगीतका साधारण ज्ञान, आरोह अवरोह र साधना गर्न सिकेका थिए ।
मामाघरबाट फर्किएपछि साधना त छुट्यो तर गीत गुनगुनाउने बानी भने बसिरह्यो । त्यही साल गाउँमा सरस्वती पूजाको अवसरमा भएको सानो कार्यक्रममा दिपकले पहिलो पटक स्टेजमा गएर गीत गाउने अवसर पाए ।
साथीसँग मेला हेर्न गएका दिपकलाई त्यहाँ गएर गीत गाउन पाउँछु भन्ने लागेको थिएन । मेलामा डान्सको कार्यक्रम रहेको तर गाउने कोही नभएको र राम्रो गाउनेलाई तीन सय रुपैयाँ नगद पुरस्कार रहेको थाहा पाएपछि दिपकका साथीले उनको नाम लेखाइदिए ।
त्यो वेला दिपकसँग कुनै म्युजिक ट्रयाक त परको कुरा कुन गीत गाउने भन्नेसम्म पत्तो थिएन । “स्टेजमा उक्लेर जसोतसो स्वरुपराज आचार्यको ‘माया अन्तै सार’ बोलको गीत विनाट्रयाकमै गाएँ,” दिपक सम्झन्छन्।
गाउने आफू एक्लै छु र पुरस्कार आफैंले पाउँछु भनेर स्टेज चढेका दिपकलाई अन्य चार जना पनि थपिएपछि भने केही चुनौती महसूस भयो । यद्यपि; नतिजामा उनकै नाम प्रथम घोषित भयो । उनको म्युजिक क्षेत्रमा लाग्नुको मुख्य प्रेरणा त्यही तीन सय रुपैयाँ पुरस्कारलाई भयो।
कलेज, गाउँमा हुने सांस्कृतिक कार्यक्रममा प्रायः गीत गाउने अवसर मिलिराख्ने भएकोले दिपकलाई स्टेजमा गीत गाउन नौलो लाग्न छोडिसकेको थियो । संगीतमा अझ पोख्त हुनुपर्छ भन्ने भएपछि उनले काठमाडौं जाने सोच बनाए । घरबाट निस्कँदा एक वर्ष राम्रोसँग संगीत सिक्ने र एउटा गीत निकाल्छु भन्ने सोच थियो उनको । तर, काठमाडौं आएपछि कुमार महाराज, सचिन सिंह, मित्र लामा जस्ता दिग्गज संगीतकारहरूसँग घुलमिल बढ्यो । उनीहरूको राय सुनेपछि गीत रेकर्डभन्दा पनि सिक्न नै जरुरी रहेछ भन्ने लाग्यो । त्यसपछि निरन्तर साधनामा नै जोड दिए । काठमाडौंलाई कर्मथलो बनाएको पाँच वर्षपछि ‘घर फिर्नु कसरी’ बोलको गीत रेकर्ड गराउन सफल बने ।
अझ धेरै स्रोता–दर्शकसामु चिनिन र संगीतलाई अझ नजिकबाट नियाल्न आफूले रियालिटी शोमा सहभागिता जनाएको बताउछन् दिपक । “स्रोता–दर्शकले चिनुन् भन्ने नै इच्छा हो । अर्को कुरा; त्यसमा मैले मेरो प्रतिभा पनि प्रत्यक्ष रूपमा देखाउन पाएको छु । टप कम्पिटिसन हुन्छ त्यहाँ । रियालिटी शोमा आउनुको मुख्य अर्को कारण चाहिं मेरो मन पर्ने गायकद्वय जजको रूपमा त्यहाँ हुनुहुन्छ,” दिपक भन्छन् ।
त्यसो त दिपक आफू पनि गीतकार तथा संगीतकार समेत हुन । लकडाउनको समयमा चार वटा गीत लेखेर कम्पोज गरेको सुनाउछन् उनी ।
Nepal’s singing superstar अरू अगाडि पुर्याउने जिम्मा स्रोता–दर्शकको हातमा भएको बताए। “मेरो भविष्य स्रोता दर्शककै हातमा छ । ओएसआर कनेक्टको एप्लिकेसन डाउनलोड गरी मलाई भोट दिनुहुन आग्रह गर्दछु ।”
Nepals singing superstar को फाइनल कार्तिक १९ गते हुदैछ।