झापा ।असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा हल्दीबारी माध्यमिक विद्यालयको आयोजना तथा हल्दीबारी गाउँपालिकाको आर्थिक सहयोगमा धान रोपाइँ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। कृषि पेशाको सम्मान, परम्परागत धान खेतीको संरक्षण तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष टिकादेवी राउतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, वडा नं. १ का अध्यक्ष देवीबहादुर थापा, वडा नं. २ का अध्यक्ष शुकलाल राजवंशी, वडा नं. ४ का अध्यक्ष सन्तकुमार थापा, हल्दीबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर प्राखिनलगायत गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय कृषकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
प्रमुख अतिथि राजेन्द्र लिङदेनले नेपाल कृषिप्रधान देश भए पनि कृषि क्षेत्रले अपेक्षित प्राथमिकता प्राप्त गर्न नसकेको उल्लेख गर्दै कृषि उत्पादन वृद्धि, कृषकको सम्मान तथा युवाहरूलाई आधुनिक कृषि व्यवसायतर्फ आकर्षित गर्न तीनै तहका सरकार, समुदाय र शैक्षिक संस्थाहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले राष्ट्रिय धान दिवसजस्ता कार्यक्रमले खेतीपातीप्रति सम्मानको भावना विकास गर्नुका साथै नयाँ पुस्तालाई कृषि संस्कृतिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले धान उत्पादनमा आत्मनिर्भर बन्न आधुनिक प्रविधिको प्रयोग, सिँचाइ सुविधा विस्तार, उन्नत बीउबिजनको प्रयोग तथा कृषकलाई उत्पादनमुखी कार्यक्रममार्फत प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउँदै कृषि क्षेत्रको विकास नै देशको आर्थिक समृद्धिको आधार भएको धारणा राख्नुभयो।
कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै असार १५ को सांस्कृतिक महत्वलाई जीवन्त बनाएका थिए। रोपाइँसँगै नेपाली कृषि परम्परालाई संरक्षण गर्ने, श्रमप्रति सम्मान व्यक्त गर्ने तथा कृषि उत्पादन वृद्धि गर्ने सन्देश प्रवाह गरिएको थियो।
हल्दीबारी गाउँपालिकाको आर्थिक सहयोग र हल्दीबारी माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले राष्ट्रिय धान दिवसलाई केवल औपचारिकतामा सीमित नराखी समुदाय, विद्यालय र स्थानीय सरकारबीच कृषि प्रवर्द्धनका लागि सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।