झापा । हल्दिबारी गाउँपालिकामा जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। असोज ५ गतेदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म लक्षित समूहका ३५ प्रतिशतले खोप लगाइसकेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
जापानिज इन्सेफलाइटिस रोगबाट हुने जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामार्फत लक्षित समूहलाई खोप लगाउने व्यवस्था गरिएको छ। अभियानमा स्वास्थ्यकर्मी तथा सम्बन्धित स्वास्थ्य संस्थाहरूले आवश्यक सहजीकरण गरिरहेका छन्।
स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार खोप अभियानप्रति समुदायको सहभागिता क्रमशः बढ्दै गएको छ। हालसम्म ३५ प्रतिशत लक्षित समूहले खोप लगाइसकेको र बाँकी लक्षित समूहलाई पनि अभियानको अवधिभित्रै खोप लगाउन आग्रह गरिएको उहाँले बताउनुभयो।
असोज १४ गतेसम्म सञ्चालन हुने अभियानमा लक्षित समूहका सबैलाई आफ्नो नजिकको खोप केन्द्रमा गई खोप लगाउन गाउँपालिकाले अनुरोध गरेको छ। जापानिज इन्सेफलाइटिस रोगबाट आफू, आफ्नो परिवार तथा समुदायलाई सुरक्षित राख्न खोप अभियानमा सहभागी हुन स्वास्थ्य शाखाले सबैमा आग्रह गरेको हो।
स्वास्थ्य शाखा प्रमुख निरौलाले अभियानको समयसीमाभित्रै सबै लक्षित व्यक्तिले खोप लगाई अभियानलाई सफल बनाउन सहयोग गर्न समेत अनुरोध गर्नुभएको छ।