झापा।हल्दिबारी गाउँपालिकाले नेपाल मै पहिलो पटक सामुदायिक विद्यालय को निरिक्षण घरमै बसेर गर्न सक्ने सिसि क्यामेरा एप्स लन्च गरेको छ।
आज एक कार्यक्रमका बिच उक्त एप्स निर्वतमान उपप्रधानमन्त्री राजेन्द्र प्रसाद लिङदेनले स्विच अन गरेर सार्वजनिक गरिएको थियो।
हल्दिबारी गाउँपालिका भित्रका सम्पूर्ण विधालयहरुमा भएको शैक्षिक गतिबिधिहरु उक्त एप्स मार्फत अविभावकहरूले चाहेको समयमा हेर्न सकिने हल्दिबारी गाउँपालिका का अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले जानकारी गराएका थिए।
शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्ने तथा विधालय र अविभावकहरूलाई अझै नजिक ल्याउने उद्देश्यले एप्स बनाईएको हल्दिबारी गाउँपालिका का सुचना प्रविधि अधिकृत सुशील कडरियाले बताएका थिए।विधालयको प्रवेशद्वार देखि खेलमैदान, कार्यालय लगायत को क्षेत्र हेर्न मिल्ने यो एप्स तयार गर्दा रू २४ लाख ८८ हजार खर्च भएको पनि कडरियाले जानकारी दिएका थिए।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान उपप्रधानमन्त्री राजेन्द्र लिङदेन रहेका थिए भने जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बराल झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल , प्रदेश सांसद छविलाल चुडाल, प्रहरी प्रमुख उपरीक्षक दुर्गाराज रेग्मी, राष्ट्रिय अनुसन्धानकार्यालय प्रमुख तुलसी प्रसाई, शिक्षा समन्वय इकाई प्रमुख राजकुमार वि. क , कानेपोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, सबै वडाका वडाध्यक्षहरू क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली, सन्तकुमार थापा र खडग लावती लगायत अतिथि रहेका थिए। कार्यक्रममा जनप्रतिनिधिहरू विभिन्न विधालयका शिक्षकहरू, संचारकर्मी, विधार्थीहरू स्थानीय सर्वसाधारण लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले प्रविधिको उच्चतम प्रयोग गरि सार्वजनिक गरिएको एप्स ले विधालयको अनुगमन गर्न जान नपर्ने तथा आफ्नो नानीहरूको पढाईलाई घरबाटै नियाल्न सकिने भएकोले यसले सकारात्मक प्रभाव पर्ने धारणा राखेका थिए।
यस्तै जिसस प्रमुखविश्व बरालले गाउँपालिकाले तयार गरेको प्रविधिको प्रशंसा गर्दै अन्य स्थानिय निकायले पनि अनुशरण गर्नुपर्ने धारणा राखेका थिए भने प्रमुख जिल्ला अधिकारी पोखरेलले अविभावक को हातमा विधालयको अनुगमन गर्ने सुविधाले विधालय र अविभावकहरूलाई सदैव सम्पर्क मा राख्ने जसले गर्दा सुधार गर्नुपर्ने कामहरुको बारेमा छलफल गर्न सहज हुने वातावरण तयार भएको बताएका थिए। यस्तै प्रदेश सांसद चुडालले हल्दिबारी गाउँपालिकाले प्रविधिमा फड्को मारेको भन्दै सबै विधालय प्रविधिमैत्री भएकोमा खुसी व्यक्त गरेका थिए।
अविभावकहरूले आफ्नो नानीहरू अध्ययन गर्ने विधालयको गतिविधि एप्स मार्फत हेर्न पहिला एउटा फारम गाउँपालिका ,वडा कार्यालय मार्फत भरेर एप्स डाउनलोड गर्नुपर्ने छ भने भिडियो दुरूपयोग गर्न नपाइने पनि जानकारी गराईएको थियो।
सोही कार्यक्रममा हल्दिबारी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरेको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हल्दिबारी गाउँपालीका बाट विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विधार्थीहरूलाई नगद सहित सम्मान गरिएको थियो।
तृतिय हुनेलाई रू ५ हजार, द्वितीय हुनेलाई ८ हजार र प्रथम हुनेलाई १० हजार सहित प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो भने विभिन्न खेलका प्रशिक्षकहरु , खेल संयोजक सहित आयोजक समितिका सदस्यहरूलाई लाई पनि प्रमाण पत्र वितरण गरिएको थियो।
हल्दिबारी गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झापामा तेस्रो भएको थियो भने अस्मिता कोल सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।
प्रमुख मुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद चापागाई ले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख राजन न्यौपाने ले गरेका थिए।