नेपालले एसीसी वुमन्स एसिया कपमा यूएई विरुद्द ६ विकेटको जित

399 views

नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको जित हात पार्दा ४ कीर्तिमान बनाएको छ । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपाललाई जिताउन ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकासहित ७२ रनको अविजित इनिङ खेलिन् ।

त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् ।

नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् । यूएईलाई हराउँदा नेपालले ४ कीर्तिमान बनाएको छ । ११६ रन नेपाली महिला टोलीले टी २० आईमा पूरा गरेको हालसम्मको ठूलो हो । यसअघि नेपालले महिला टी २० आईमा सर्वाधिक ठूलो लक्ष्य सन् २०२३ जुन ४ मा मलेसियाले दिएको ११० रन पूरा गरेको थियो ।

नेपालको एसिया कपमा यो पहिलो जित हो । यसअघि नेपालले दुई संस्करणमा कूल ८ खेल खेल्दा जितविहीन थियो । सन् २०१२ मा नेपाल श्रीलंकासँग २० रन, बंगलादेशसँग ९ विकेट र घरेलु टोली चीनसँग ४५ रनले पराजित भएको थियो ।

नेपाल सन् २०१६ मा पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट, बंगलादेशसँग ९२ रन, थाइल्यान्डसँग ८ विकेट र भारतसँग ९९ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search